Articles by "South Korea"
Tampilkan postingan dengan label South Korea. Tampilkan semua postingan
कथा
कोरियन ज्वाई

दङ्ग थियो "छोरीको राम्रै केटासगँ बिहे गेरिदिएछु" भन्दै गाउँको चौतारीमा फलाक्दै पनि हिड्थ्यो , अर्थात देवीलाल पाण्डेलाई राम्नाकोट वडा नं. तीनमा सबैले कोरियावाला ज्वाईको ससुरो भनेर चिन्न थालिसकेका थिए अझ कोरियामा श्रमिकको तलब ७.३ प्रतिशतले बढ्दा देवीलाल गाउँका दुईचारजना बुढाहरुलाई आफ्ना ज्वाईको बखान चुटेर वाक्क पार्थे
एक वर्ष अगाडी मात्रै उसले आफ्नी छोरी झुमाको बिहे नन्दबहादुर सगँ गरिदिएको थियो त्यतिखेर उसलाई ज्वाई छान्न खुब वित्याँस पर्यो । गुरागाईँ बाहुन बाजेले छोरीका लागि भनेर तीन जना केटाको कुरा  लिएर आएका पहिलो केटो बोर्डिङ स्कुलको टिचर, दोस्रो केटो कोरियाको भाषा परीक्षा दिएर बसेका, तेस्रो डिग्रि पढ्दै गरेका देवीलालले पल्लो गाउँका कोरिया एका केटाहरुको प्रगति देखेका थिए, सुनेका थिए कोरियामा लाख भन्दा बढी कमाई हुन्छ कोरिया एका केटाहरु यस्ता हुन्छन् उस्ता हुन्छन् आफ्ना घर परिवार​, जहानलाई जे भन्यो त्यहि पुर्याईदिन्छन् इपिएस मार्फत कोरिया एका केटाहरुको बारेमा यस्तै थुप्रै कुराहरु सुन्दै आएका देवीलालले अन्तमा झुमाको बिहेको लागि कोरियाको भाषा परीक्षा दिएर बसेको केटोलाई नै पहिलो प्राथमिकतामा पार्यो

मनमा कुनै दुविधा नराखी देवीलालले आफ्नी छोरी कोरिया जानेवाला केटोलाई नै दिने निर्णय गर्यो अझ एकदिन बाहुन बाजेले नन्दबहादुरले कोरियाको भाषा परीक्षा पनि पास गरिसक्यो भनेर सुनाउदा देवीलाल आफ्नो निर्णय प्रति सन्तुनष्ट थियो कोरिया जानेवाला ज्वाईको ससुरो हुन पाउँदा गदगद भयो त्यहिभएर छोरीको बिहे पनि धुमधाम सगँ गरिदियो । सारा गाउँलेलाई निम्त्याएर भतेर पनि खुवायो गाउँलेहरु पनि खुशी भयो "कोरिया जाने ज्वाई पायौँ। तिमि भाग्यमानी रहेछौ देवीलाल " भन्दै गाउँलेहरु पनि देवीलालको कान भर्थे यति सुनेपछि देवीलाललाई पनि पुग्थ्यो शानका साथ कोरिया जान लागेका ज्वाईको आडमा फुर्ति लाउन थाल्थ्यो।
इपिएस मर्फत कोरिया जानका लागि देविलालको ज्वाई नन्दबहादुर भाषा पास गरेपछि कोरियाबाट श्रम सिफारिस आएपश्चात भिषाका लागि आवेदन दिन आवश्यक कागजातहरु जुटाउन थाल्यो । नयाँ नियमानुसार कोरिया जान​ टिविको रिपोर्ट पनि बुझाउनु पर्ने रहेछ । त्यहिभ​एर कोरियन राजदुतावासले तोकिएको हस्पिटलमा ग​एर टिविको जाँच पनि गराउनु पर्ने भयो नन्दबहादुरलाई ।
"टिविको रिपोर्ट" भन्ने बित्तिकै नन्दबहादुर एकछिन् झसङग भयो । उ आत्तियो एकछिन् । सात​, आठ वर्ष पहिले उसलाई टिवि लागेको थियो । नियमित रुपमा औषधी खाएर टिवि त निको भ​एको थियो तर त्यसको दाग छातीमा सधैभरी रहिरहयो ।
मेडिकल गर्न जादाँ डाक्टरलाई नन्दबहादुरले आफ्नो सबै कुरा सुनायो । डाक्टरले "नआत्तिकन मेडिकल गर्नुहोस । टिविको दाग सबैसगँ सधैँभरीलाई रहदैन । टिवि निको भ​एपछि यो दाग मेटिएको उदाहरण थुप्रै छन् " भने पछि उ केही शान्त भ​एर आफ्नो मेडिकल गरायो ।
तर अफसोच ! तीन दिनपछि उसको मेडिकल रोपोर्टमा टिविको दाग देखिएकै आयो । अब के गर्ने होला भनेर उ छटपटिन थाल्यो । कोरिया जान लागेको भनेर सबैतिर हल्ला फैलिसकेको थियो । अझ उसको ससुरो देवीलालले कोरिया जाने भ​एरै नै छोरी उसलाई दिएको थियो ।
कुनै उपाय त होला दाग हटाउने भनेर नन्दबहादुर सोच्न थाल्यो । तर उ सगँ पर्याप्त समय पनि थिएन छातिमा टिविको दाग हटाउनका निम्ति । झल्याँस उसले आफ्नो एकजना स्वास्थ्य क्षेत्रमा काम गर्ने साथिलाई सम्झियो । उसैलाई आफ्नो सबै अवस्था सुनायो । उक्त साथिले एकजना रेडियोलोजिस्ट चिनेको रहेछ । ती रेडियोलोजिस्ट भाग्यले कोरियन दुतावासले तोकेकै हस्पिटलमा काम गर्दो रहेछ । उसैको मद्दतमा केही बढी पैसा तिरेर नन्दबहादुरले दाग नभ​एको टिविको रिपोर्ट बनाउन सफल भयो ।
टिविको दाग नभ​एको रिपोर्ट लगायत अन्य सबै डकुमेन्ट तयार गरेर इपिएस प्रणाली अन्तर्गत नन्दबहादुरले कोरियाको श्रम भिषाका लागि आवेदन दियो । तीन दिन पछि उसको पासपोर्टमा भिषा पनि लाग्यो । भिषा लागेको कुरो सबै भन्दा पहिले उसले कोरियन ज्वाई भन्दै उफ्रिदै आइरहेका आफ्नै ससुरो बुढो देवीलाललाई सुनायो ।
ज्वाईलाई कोरियाको भिषा लगेपछि देवीलाललाई के चाहियो र अरु । उसले गाउँभरीका आफ्नै उमेरका बुढाहरुलाई पिपलबोटमा बोलाएर एक ग्यालेन रक्सी र मासु खुवायो । खादै देवीलालले आफ्नो ज्वाईको प्रशंसा गर्दै भन्न थाल्यो," हेर बिर्खे, बाहुन बाजेले छोरीको लागि तीन ठाउँबाट केटाको कुरा ल्याएका थिए । एउटा बिस​-पच्चिस हजार कमाउने शिक्षक, अर्को भर्खर डिग्री पढ्दै गरेको अनि अर्को कोरिया जान लागेको केटा । यस मध्ये मैले कोरिया जाने केटा छानेर झुमाको बिहे गरिदिए । ज्वाईको भिषा लागेपछि अब मलाई ढुक्क​ भयो । अचेलको जमनामा सबै भन्दा ठुलो पैसा हो । जसले पैसा कमाउन सक्छ उसैले खुसिले घरपरिवार पाल्न सक्छ । त्यो शिक्षकले सधैँ भरि शिक्षक नै भ​एर कति नै कमाउला  र ? उसैगरी अर्का डिग्रि पढ्नेले डिग्रि पढेर के नै नाप्न सक्छ र ? कोरिया ग​एर ज्वाईले पाँच वर्षमा करोडौँ कमाउँछन् । छोरीलाई जे भ​ए नी सुख्खले पाल्छन् ।" बुढाहरु पनि खान पाएपछि देवीलालको गफमा हो मा हो मिलाउन थाले ।
नन्दबहादुर भिषा लागेको तीन हप्ता पछि कोरियन एयरलाइन्सको विमानमा दक्षिण कोरियाको लागि उड्यो । इन्छन विमानस्थलमा अवतरण भ​एपछि उसलाई कम्पनीले सिधैँ ट्रेनिङ सेन्टर पुर्यायो । तीन​ दिनको ट्रेनिङ पछि ट्रेनिङ दिने सरले "एलियन रजिष्ट्रेशन कार्ड​" बनाउन सबैले मेडिकल गर्नुपर्छ भन्दा नन्दबहादुर पुनः उही तनावमा फर्कियो । उसलाई यहाँनिर​ अब अप्ठ्यारो पर्यो । नेपालमा त जसोतसो मेडिकल रोपोर्ट मिलाएको थियो । तर कोरिया आएपछि फेरी मेडिकल गर्नुपर्छ भन्ने कुराको हेक्का उसले बिर्सियो ।
Jebudo Island, South Korea

पुनः मेडिकल गर्दा नन्दबहादुरको एक्स रे रिपोर्टमा छातीमा टिविको दाग देखियो । उसको भिषा स्वतः रद्द भयो । तुरुन्तै कोरियन श्रम विभागले उसलाई टिकटको बन्दोबस्त गरेर नेपाल फर्काउने व्यवस्था मिलायो ।
कुन मुखले नेपाल फर्कने । नफर्केर पनि अर्को कुनै बाटो थिएन नन्दबहादुर सगँ । काठमाण्डौँ फर्केपछि पहिला उसले श्रीमतिलाई फोन गर्यो । उसले सबै कुरा सुनायो । झुमाले उसलाई फोनमा सहानुभुती देखाएर सम्झाउदै घर फर्किन अनुरोध गरिन्​।
काठमाण्डौँ फर्केको पर्सिपल्ट उ साझँ पारेर घर पुग्यो । घर पुगेपछि अनेक कुराहरु निस्कन थाल्यो । टिविको दागका कारण कोरियाबाट ज्वाई फर्केको कुरा ससुरालीमा पनि पुगिसकेको रहेछ । कोरिया जानु भन्दा अगाडी सबैले गर्वले उसलाई ससुरालीमा कोरियन ज्वाई भन्थे । भिषा रद्द भ​एर फर्के पछि उसलाई आफ्नै घर-टोलमा पनि  हेपा दृष्टिले "कोरियन ज्वाई" बनेर गिज्याउन थालेका थिए ।
ज्वाई फर्के पछि देवीलालको गाउँमा जुन रवाफ थियो, त्यो रहेन । उल्टै गाउँमा आफ्नै ज्वाईको कुरा आफैँ काट्न थालेका थिए । "छोरी फसाएर बिहे गर्यो । छोरीको जिन्दगि बर्बाद बनायो" समेत भन्न भ्याइसकेका थिए ।
नन्दबहादुरलाई कोरियामै भिषा रद्द भ​एदेखि राम्ररी निन्द्रा लाग्न छाडेको थियो । उ एक्लै टोलाउन थाल्यो। मान्छेको कुरा सुन्नुपर्छ भनेर उ घरबाट बाहिर निस्कन पनि छोड्यो । अब के गर्ने ? परिवार-जहान कसरी पाल्ने ? कोरिया जाने क्रममा अलिअलि रिन लिएको थियो, त्यो कसरी तिर्ने ? यस्तै कयौँ कुराले उसलाई भित्रभित्रै खोक्रो पार्न थाल्यो। अर्कातर्फ "ठगेर कोरिया जान लागेको, छलेर अर्काको छोरी बिहे गर्यो" भन्ने जस्ता हल्लाले उसलाई झन डिप्रेशन तर्फ डोर्याउदै लग्यो ।
दशैँमा ससुराली टिका थाप्न जादाँ देवीलालको व्यवहारले उ झन् पिडित भयो । "झुमाको लागी तीन ठाउँबाट केटाको कुरा आ’को थियो । बिस​-पच्चिस हजार महिनाको कमाउने सर​, डिग्री पढ्ने केटो सबैलाई छाडेर देवीलालले कोरियन ज्वाई रोज्ने हुदाँ चाइनिज सामान जस्तै खोक्रो ज्वाई हात पर्यो " जस्ता कुरा सुन्दा नन्दबहादुर पुर्णरुपमा डिप्रेशनको शिकार भ​ईसकेको थियो ।
आफ्नो श्रिमान डिप्रेशनमा गइरहेको चाल पाएपछि झुमा पनि दुखी भई । उनैले बल्ल बल्ल फकाएर नन्दबहादुरलाई उपचार्थ डाक्टरकहाँ लगिन् । डाक्टरको जाँच पछि उहाँकै सल्लाहामा नन्दबहादुरलाई केही महिनाका लागि डिप्रेशन हटाउन "थेरापी सेन्टर​" मा राख्नु पर्ने भयो । नन्दबहादुर पटक्कै मानिरहेको थिएन "सेन्टर​" मा बस्न । तर झुमाले अनेक आश्वासन र आड​-भरोसा दिएपछि उ बल्ल बल्ल "थेरापी सेन्टर​"  बस्न राजी भयो ।
आफ्नो पतिलाई "थेरापी सेन्टर​" पुर्याएर फर्किदा बाटोमा झुमाले मनमा अनेक गम्भिर प्रश्न खेलाउदै आईन् । उनले आफ्नो पतिलाई त्यस्तो हालतमा पुर्याउनका निम्ति कसैलाई दोषी ठहर्याउन सकिनन् । बरु उनले आफ्नै समाजलाई धिकारिन् । र आफैँ सगँ सोधिन् के नन्दबहादुरको यस्तो अवस्था निम्त्याउन उनकै पिताको दोष छ त? केहि पैसाको लोभमा नक्कली मेडिकल रिपोर्ट बनाइदिने के डाक्टर दोषी छ त? की आडम्बरी समाजमा पैसाको लालावाला चल्ने हुदाँ सामजिक दवाबले नन्दबहादुरलाई नक्कली मेडिकल रिपोर्टको आडमा कोरिया जान बाध्य तुल्यायो ?
जे हुनु थियो भइगयो । उनले कसैलाई आरोप लगाउँन चाहिनन् । बरु डिप्रेशन रहित पतिको प्रतिक्षामा समय व्यतित गर्न थालीन्।

-धिरज चौधरी
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३ १२:४४:२२
http://setopati.com/sahityapati/50575/


पूर्ण दक्ष विद्यार्थीका लागि कोरिया अवसरको भण्डार हो, धिरज चौधरी



विज्ञान र प्रविधिको अनुसन्धानमा विश्वकै अग्रपङ्तिमा पर्छ दक्षिण कोरिया । त्यसैले विज्ञान विषय अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने कोरियाका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्र्थीहरुको संख्या बढिरहेको छ । झण्डै एकहजारको हाराहारीमा रहेका नेपाली विद्यार्थीहरु मध्येका एक हुन् धिरज चौधरी । डेढ वर्ष अघि विद्यार्थी भिषामा कोरिया आएका धिरज कोरियाको ख्वाङगी विश्वविद्यालयमा माइक्रोबायोलोजिमा विद्यावारिधि गरिरहेका छन् । बायोरेमिडेसन विषयमा अनुसन्धान गरिरहेका उनको अध्ययन मुख्यतय विषाक्त रसायनिक तत्वलाई व्याक्टेरियाको प्रयोग गरेर विषाक्तमुक्त बनाउने तर्फ केन्द्रित रहेको छ ।
मोरङको बेलबारीमा बाल्यकाल बिताएका धिरजले त्यहिको भानु मेमोरियल इङलिस स्कुलबाट एसएलसी गरे । पछि परिवारसहित बिराटनगर बसाइ सरेका धिरजको सानैदेखि व्यापार व्यवसायमा रुचि थियो । तर स्कुलका शिक्षकहरुले विज्ञान विषय लिएर पढने प्रेरणा मिलेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा बिएसी हुँदै थापाथलीको सेन्ट जेभियर्सबाट एमएससी मेडिकल माइक्रोलोजीको अध्ययन पुरा गरे । अध्ययन पश्चात लम्जुङको कृषि क्याम्पस र दाङ लमहीको पृथु टेक्निकल कलेजमा केही वर्ष अध्यापन समेत गरे ।
अध्ययनसँगै लेखन कार्यमा पनि उत्तिकै सक्रिय चौधरी इमर्जेन्ट लाइफ साइन्स रिसर्च जर्नलको सहसम्पादक र लन्डनको ईसि माइक्रोबायोलोजी जर्नलको सम्पादकीइ मण्डललगायत अन्तर्राष्ट्रिय साइन्टिफिक जर्नलहरुको पुनरावलोकनकर्ताको रुपमा समेत रहेका छन् । हाल कोरियाको ख्योङगी विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका यिनै युवा विद्यार्थी धिरज चौधरीसँग फोनिज कोरियाकालागि बाला राईले गरेको कुराकानीः

अध्ययनको लागि कोरिया नै छान्नुको कारण ?
विज्ञान र प्रविधिको अनुसन्धानमा कोरिया विश्वको अग्र पङ्क्तिमा पर्दछ । नेपालमै स्नातकोत्तर गर्दा कोरियामा भएका अनुसन्धानका जर्नलहरु बेला-बेला पढेको थिए । कोरियामा अध्ययन गरिरहेका साथिहरुबाट पनि यहाँ भईरहेका अनुसन्धान र अवसरको बारे सुन्दै आईरहेको थिए । एमएससी गरेपछि विध्यावारिधि गर्ने ठुलो धोको थियो । त्यसैको लागि छात्रवृतिको अवसर खोज्दै थिए । त्यहीक्रममा ख्योङ्गी विश्वविधालयबाट छात्रवृति पाएँ । ख्योङ्गीमै अध्ययनरत दाई रामहरि दाहालबाट पनि ठुलो सहयोग र उचित सल्लाह पाएपछि अध्ययनका लागि कोरिया आउन सहज भयो ।

कोरियामा सुरुमा आउँदा कतिको संघर्ष गर्नुपर्यो ?
यस सम्बन्धि त मैले सेतोपाटीमा “कोरिया पढ्न आउँदा”   शिर्षक अन्तर्गत लेख नै लेखेको थिए । वास्तवमा कोरिया मात्रै होइन विदेशको जुनसुकै ठाउँमा सबैले निकै संघर्ष गर्नुपर्छ । कोरिया त अझ नन-इङ्ग्लिश स्पिकिङ कन्ट्री भएर होला धेरै नै संघर्ष गर्नुपर्यो ।
भाषा नबुझिने त्यहिमाथि रोबोट जस्तै निरन्तरमा मात्र लागिराख्ने कोरियनहरुसँग हप्तैभरी बिहान ९ बजे देखी ११ बजे राति सम्म प्रयोगशालामा अनुसन्धान गर्दा सुरुवातका दिनहरुमा निकै गाह्रो भयो । कुनै कुनै बेला त भागेर नेपाल नै फर्किने सोचसम्म आउँथ्यो । तर प्रोफेसरको सान्तवना र साथीभाइको हैसलाले गर्दा विस्तारै सबै जटिलतासगँ जुध्न सिकेँ । त्यहिभएर होला जति पिडा भए नी हिजोआज कोरिया सरल लाग्न थालेको छ ।

नेपाल  कोरियाको अध्ययन पद्धतीमा के फरक पाउनुभयो ?
केही सुधार आएता पनि नेपालको अध्ययन पद्धती अझै गुरुकुल प्रणालीमा आधारित छ । विध्यार्थीको मुल्याङ्कन तीन घण्टे परीक्षामा सोधिने केही सिमित प्रश्नको आधारमा गर्ने परम्परा अझै विद्ध्यमान छ ।
तर कोरियाको अध्ययन पद्धतीको अलग्गै धार छ । यहा विशेषतः अनुशन्धानमा जोड दिने भएकोले कोरियाको अध्ययन पद्धती अनुशन्धानात्मक प्रणालीमा आधारित छ ।
सैन्द्धान्तिक ज्ञानका हिसाबमा त कोरियन विध्यार्थीहरु भन्दा पनि नेपालबाट अध्ययन गर्न आउने साथीहरुकै राम्रो भएको भेटेको छु । स्नातक तह भन्दा माथिल्लो स्नातकोत्तर र विध्यावारिधि तहमा खासगरि प्रोजेक्ट केन्द्रित अध्ययन हुने हुदाँ नेपालको शिक्षा प्रणाली भन्दा विल्कुलै फरक तरिका भेटिन्छ कोरियन अध्ययन पद्धतीमा ।

कोरियामा अध्ययन गर्न कतिको अप्ठ्यारो ?
भाषागत समस्या नहुने हो भने छात्रवृति पाएर आउने विध्यार्थीहरुका लागि सहज छ कोरियाको अध्ययन । स्नातकोत्तर र विध्यावारिधि तहमा भाषाले गर्दा अध्ययनमा त्यति धेरै समस्या  पर्दैन तर स्नातक तहमा भने अनिवार्य कोरियन भाषा आवश्यक पर्दछ ।
हरेक कुरो समयतालिका अनुसार हुने, समयमै सेमेष्टर सकिने, कोरियन र विदेशी विध्यार्थीका बिच प्रोफेसरहरुले भेदभावको भावना नराख्ने र सुरक्षित वातावरणमा अध्ययन गर्न पाउँदा अन्य देश भन्दा कोरियामा अध्ययन सहज छ ।


विशेषगरी विदेशी विद्यार्थीहरुको लागि सबैभन्दा चुनौती के हो ?
खानपिन र रहनसहन कोरियामा विदेशी विध्यार्थीहरुका लागि मुख्य चुनौती बन्दै आइरहेको छ । कम्पलिकेटेड लाइफ स्टाईलमा बाच्नु पर्दा कोरियन जीवन शैलीमा आफुलाई ढाल्नु अपरिहार्य हुन्छ । यी यावत परिवेशमा घुलमिल हुन आर्थिक समस्या गम्भिर चुनौती भएर आईपुग्छ ।
छात्रवृति पाएर आउने विध्यार्थीहरुका लागि आर्थिक भार केही कम भएता पनि ट्युशन फी समेत आफै जोहो गर्ने विध्यार्थीहरुका लागि चाहिँ समस्यै समस्याहरुको पहाड ठडिन्छ ।
अर्कोतर्फ धेरै नेपाली साथिभाइहरुले आफ्नो श्रीमती, छोराछोरी कोरिया ल्याउनुहुन्छ । विश्वविध्यालयबाट पाइने सिमित छात्रवृतिमा श्रीमती सहित छोराछोरी पाल्न निकै अप्ठ्यारो छ । कोरियन सरकारले विदेशी विध्यार्थीहरुलाई आफ्नो श्रीमती कोरिया ल्याएर राख्ने अनुमती त दिएको छ तर कानुनीरुपमा डिपेन्डेन्टमा आएका उनिहरुले काम गर्ने अनुमती चाहीँ पाएका छैनन् । जसका कारण कोरियामा परिवार ल्याएर बाँच्न धेरै नै असहज पर्छ ।
केही अपवादका विश्वविध्यालय बाहेक कोरियाका सबै जसो विश्वविध्यालयमा विध्यार्थीले पाउने छात्रवृति कोरियन सरकारले करिव दश वर्ष अगाडी निर्धारण गरेको ५ लाख देखी १० लाखकोरियन वोन हो । कोरियामा प्रत्येक वर्ष महंगी बढिरहेको अवस्था छ । तर विध्यार्थीले पाउने छात्रवृति भने उही दशकौँ अगाडी तोकिएको रेट मै सिमित छ ।
समग्रमा भन्नुपर्दा रहनशहन, खानपिन , कोठा रेन्टमा लिदाँ बुझाउनु पर्ने ठुलो रकमको धरौटी, प्रत्येक वर्ष बढिरहेको महंगी लगायत भाषा नै विदेशी विध्यार्थीहरुका लागि प्रमुख चुनौती बनेको छ ।
 
Sindorim, South Korea
अहिले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरु कति होलान् ? अनि बढी कुन विषयमा अध्ययन गर्न आउँछन् ?
अनुमानित एक हजारको सङ्ख्यामा कोरियामा नेपाली विध्यार्थि अध्ययनरत छन् । तर हरेक वर्ष यो आकडा बढिरहेको छ । बढी जसो  विध्यार्थि विज्ञानका विभिन्न संकायमा अध्ययनरत छन् । विज्ञान बाहेक छिटपुट विध्यार्थिहरु व्यवस्थापन, मनविकि र इन्टरनेशनल रिलेशन संकायमा पनि भेट्न सकिन्छ ।

कोरियामा अध्ययन गर्न आउन चाहने विध्यार्थीलाई केही सुझाब ?
सर्वप्रथम त विध्यार्थी कुन विषय पढ्न, कुन विश्वविध्यालय र कुन तहको पढाईको लागि आउदै हो त्यो कुरामा स्पष्ट हुनु पर्छ । यदि अस्ट्रेलिया, बेलायत, अमेरिका गएको जस्तो गरि पढ्ने पनि हो पैसा पनि कमाउने हो भन्ने कुनै सोचाई छ भने म उनिहरुलाई कोरिया नआउन अनुरोध गर्दछु। तर कोरिया सरकारको कुनै पनि किसिमको छात्रवृति वा विश्वविध्यालयको प्राध्यापकको सिफारिसमा आउदै हुनुहुन्छ भने ढुक्क भएर कोरिया आउदाँ हुन्छ किनकि मलाई थाहा भए सम्म यहाको विश्वविध्यालयका मास्टर्स र विध्यावारिधिको अध्ययन विश्व कै उत्कृष्टमा गनिन्छ । तर   सकेसम्म स्नातक तहको लागि चाहि पढ्न नआउदा नै राम्रो हुन्छ किनकि स्नातक कोरियन भाषामा नै पढ्नु पर्ने हुन्छ जसमा भाषागत जटिलताहरु छन् ।
यहाँ मुख्यतय: विज्ञान प्रवृधि तथा कम्प्युटर शिक्षामा आउने विध्यार्थीहरुलाई अरु विधाको विध्यार्थीहरुलाई भन्दा सहज परिस्थिति छ । तर कोरिया आउन कै लागि कन्सल्टेन्सीहरु बाट मोटो रकम तिरी कतिपय विध्यार्थीहरु यहाँ कुनै विश्वविध्यालयमा आइपुगेको र कन्सल्टेन्सीले भनेको जस्तो परिस्थिति नभई विध्यार्थीहरुलाई धेरै नै सकस परेको कुराहरु पनि सुन्नमा आइरहेका छन् । तसर्थ कुनै पनि कन्सल्टेन्सी मार्फत कुनै पनि रकम तिरेर कोरिया पढ्न नआउन अनुरोध गर्दछु ।

कोरियामा सिकेको ज्ञान  सिपलाई नेपाल फर्केपछि प्रयोग गर्ने वातावरण कस्तो भए अझ प्रभावकारी होला जस्तो लाग्छ ?
मुख्यतय स्वस्थ राजनितीक वातावरण भयो भने मात्रै कोरिया लगायत विश्वका अन्य देशहरुमा रहनु भएका नेपाली दक्ष जनशक्तिहरु नेपाल फर्केर काम गर्न सक्छन् । त्यस्तै नेपालमा अनुसन्धान केन्द्रहरु छदै छैन भन्दा पनि हुन्छ । तसर्थ म जस्ता विज्ञानका विभिन्न विषयमा अध्ययन गरिसकेपछि नेपाल फर्केर काम गर्ने सोच भएका साथिहरुलाई नेपाल फर्केर काम गर्नका निम्ति उचित अनुसन्धान केन्द्रहरु स्थापन हुनु अत्यन्त आवश्यक छ ।
अध्ययन अनुसन्धान्लाई विकेन्द्रिकरणको नितीमा लगेर स्वच्छ प्रतिष्पर्धाको वातावरण सरकारले बनाउन सकियो भने मात्रै कोरियामा सिकेको ज्ञान र सिपलाई नेपालमा प्रभावकारी तवरमा उपयोग गर्न सकिन्छ ।
नेपाल फर्केपछि के गर्ने योजना बनाउनुभएको छ ?
योजना त थुप्रै छन् ।  तर मुख्य योजन कोरियाबाट सिकेको सिपलाई सदुपयोग गर्न केन्द्रित रहने छ । यहाँ मेरो अध्ययन विभिन्न हानिकरक रसायनिक तत्वबाट दुषित भएका माटोलाई जैविक प्रविधि अपनाएर शुद्धिकरण गर्ने विषयमा केन्द्रित छ । यसलाई हामी बायोरेमिडेसन भन्छौ । जैविक प्रविधिमा पनि विशेषतः ब्याक्टेरियालाई उपयोग गरेर माटोमा रहेका हानिकारक रसायनिक तत्व हाटाउनु नै मेरो अनुसन्धानको मुख्य विषय हो । तसर्थ नेपाल फर्केपछि यही सिपलाई उपयोग गरेर कृषि क्षेत्रमा पाईने हानिकरक रसायनिक तत्वलाई बायोरेमिडेसन प्रविधिबाट हाटाउने प्रणालीलाई अगाडी बढाउने योजना रहेको छ ।


अन्त्यमा, अध्ययन भिषाकासाथै रोजगार भिषा, वैवाहिक भिषा वा अन्य भिषामा आउने नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?

कोरियामा विविध समस्याहरु रहेता पनि यो देश अन्य मुलुकहरु भन्दा सुरक्षित छ । विभिन्न भिषामा थरीथरीका सपनाहरु बोकेर आउनुभएका सबैलाई आफ्नो सपना पुरा गर्ने तर्फ अग्रसर रहनुहोस भन्ने शुभकामना दिन चाहन्छु । घर-परिवार र राष्ट्र सम्झेर परदेशी जीवनयापन गरेर भएपनि देशको प्रगतिको लागि केही योगदान गरौँ भन्दै सबैको कोरिया बसाई सुखद रहोस भन्छु।

Published In Fonijkorea.net
Published Date:2016/7/22