रेस्टुरेन्ट गफ​



सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् "धेरै काम नगर । तीन​, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।" हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ ।
यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्ट जाने रहर पुरा गर्न सकिरहेको थिईन । केटीहरु जुनै देशका भ​एपनि ल्याङ ल्याङ​ गर्ने बानी चाहिँ तिनीहरुको जीन मै भरिएर आउदो रहेछ । धन्न​ यिनी मेरो गर्लफ्रेन्ड होइनन् । गर्लफ्रेन्ड भ​एको भए झन् कति कचकच गर्दिहोलीन् ।
धेरै समय पश्चात यूजिनलाई नेपाली रेस्टुरेण्ट लाने मौका जुर्यो । अघिल्लो दिनै उनलाई सुवनको नेपाली रेष्टुरेन्टको लोकेशन काकाओ गर्दिएको थिए । साँझ चार बजे तिर "आउ है" भनेर बिहानै फोन पनि गरे । कोरियनहरु समयको पक्का हुन्छन् । त्यहि सोचेर चार बजेतिर म सुवन स्थित नेपाली रेष्टुरेन्ट पुगेँ ।
तर एकछिन् पछि यूजिनले मेसेज गरिन् -" केही ढिला हुन्छ​, नरिसाउ हैम बाटोमा छु ।"
रेष्टुरेन्ट भित्र पसिसकेकाले, पस्ने बितिक्कै निस्कन अप्ठ्यारो लाग्यो आइतवार विदाको दिन भएर होला, नेपाली अनुहारहरुले रेष्टुरेन्ट खचाखच थियो । सानो भोल्युममा "के साच्चै तिमी रिसाकै हौ त​, के साच्चै मन दुखाकै है त​" बोलको गीत बज्दै थियो । कुनाको एक छेउमा एउटा टेवल खाली थियो । त्यहि ग​एर टेवल रिजर्व गरे ।
रेष्टुरेन्टको दिदीलाई एक कप हट लेमन मगाएर एक नजर रेष्टुरेन्ट भरि दौडाए । रेष्टुरेन्टका भित्ताहरु नेपाल झल्किने आकृतिहरुले बेहुलि झैँ सिँगारिएको थियो । मेरो ठिक अगाडी सगरमाथाको चुचुरो । अर्को पटि ध्यान मग्न बुद्ध​, त्यसैको छेउमा स्वयम्भु र अलिक तलतिर दरबार स्क्वायर । ओहो ! रेष्टुरेन्टको सजावट देख्दा लाग्थ्यो रेष्टुरेण्ट भित्रै नेपाल अटाएको छ ।
त्यो रेष्टुरेण्ट भित्र नेपाल झल्काउने अर्को गहना थियो - नेपाली दाजुभाइहरु । विभिन्न भिसामा कोरियामा रहनु भ​एका नेपालीहरु विदाको दिन नेपाली रेष्टुरेन्टमा जम्नुको मज्जा नै बेग्लै हुने । अझ रोजगारी भिसामा आउनु भ​एका नेपालीहरुका लागि लाग्थ्यो नेपाली रेष्टुरेन्टहरु भेटघाटको जकंशन नै हो ।
यूजिन अझै आइपुगेकी थिईनन् । कपमा हट लेमन पनि रितिसकेकाले टेवल फोकटमा ओगटेर त्यसै बसिरहन मन लागेन । त्यहिभएर एक प्लेट भुटन अर्डर गरे।
अनि रेष्टुरेन्टमा रमाईरहनु भ​एका दाजुभाइहरुको गफतिर कान ठाडो बनाए-
गफ नं. :
"ओई हिजोआज हुन्डीको रेट कति छ । तीन महिना भो एक सुका पैसा पठाको छुईन​ । सुड्डोले घर ढलान गर्ने रे । पाँच लाख पठाई दिनु पर्ने । यो महिनाको तलब मलाई दे है ।"
अन्दाजी २४, २५ वर्षका देखिने चार युवाहरुको एक झुण्ड रहेको टेवलमा हुन्डी, तलव र नेपाल पैसा पठाउने बारे गफ हुदै थियो ।
सोजुको ग्लास रित्याउँदै अर्का एकजना युवकले गुनासो पोख्दै थिए- दिपकेले प्रत्येक महिना दुई लाख घर पठाउँछ । त्यसको बाउले पैसा पाउने बित्तिकै "दिपकेले यसपाली यति पैसा पठायो" भनेर मेरो घरमा सुनाउछन् । अनि घरकाले मलाई "फलानोको छोरोले यति पठायो उति पठायो " भनेर व्य​ङ्ग्य गर्छन् ।
दिपकले जतिसुकै पठाए पनि त्यसका बाउले मेरो घरमा चाँहि के खान सुनाउनु ? त्यसले पैसा पठाउँदा प्रत्येक पल्ट प्रेसर चाँहि मलाई पर्छ आफ्नो झुर कम्पनी परेर न ओटी छ न त बोनस । घरकालाई के थाहा कोरियाको हरिबिजोग । सबैको भाग्यमा  राम्रो कम्पनी कहाँ हुन्छ र ?
गफ  नं. :
उत्तरपटिको टेवलमा अलिक संवेदनशिल गफ हुदैरहेछ । साङगितिक भोल्युम केही बढेकाले उनिहरुको गफ राम्ररी त बुझ्न पाइन । तर बुझेका मध्ये केही अंश यहाँ प्रस्तुत गरेको छु ।
"त्यसमा त कम्पनीकै गल्ति छ​ पुरानो मेशिन नफेरेर त हो, उ त्यसमा च्यापिएर दुर्घटनामा पर्यो । र अस्ती सत्र दिनपछि अस्पतालमै उसको मृत्यु भयो । विचरा भुवन ! भर्खरै बिहे गरेर आएको थियो । "
"कोही आत्माहत्या गर्छन् । कोही कम्पनीको लापारवाहिले मर्छन् । कोही दुर्घटनामा परेर मृत्यु अगाँल्छन् । कामदार भिसाको नीति परिवर्तन नहुन्जेल अझै कति नेपाली र अन्य विदेशीहरुको ज्यान जोखिममा पर्ने हो?
"नेपालमा हामीलाई सबैले कोरियन लाहुरे देख्छन् । लाखौ कमाको देखेर कसैले आइफोन, कसैले ल्यापटप त कसैले डिएस​एलआर​ क्यामेराको डिमान्ड गर्छन् ।"
गफ  नं. :
प्लेटको  भुट्न पनि भ्याईसकेको थिए । यूजिन अझै आइपुगेकी थिईनन् । टेवल ओगटिराख्न अब के अर्डर गर्ने भनेर सोच्दै थिए । मेनु हेर्दै त्यहाँ गुन्जिरहेको  गफहरु पनि आफ्नो कानमा रेकर्ड गर्दै थिए । यतिकैमा एक समुह नेपालीहरु मेरो पछाडी रहेको टेवलमा आएर जम्न थाले । मैले एउटा म्याग्जु खाने निधो गरे अनि साधेको भट्मास पनि मगाए ।
पछाडीको टेवलको गफ सुन्दा तिनीहरु बिहेको ट्रिट खान आएका रहेछन् भन्ने सहजै अनुमान लाउन मलाई गाह्रो भ​एन ।
त्यस समुहका एकजना साथी नेपालबाट भर्खरै बिहे गरेर फर्केका रहेछन् । उसैको ट्रिटमा सबैजना चिकेन तन्दुरी र वियर घुट्क्याउदै नवदुलाहलाई उडाई रहेका थिए-
"सुहागरातमा के गरिस । सुना न ।"
"विहे गरेको आठ दिनमै आउनु पर्दा पीडा भ​एन ?"
"कसरी मन थामेर बस्छस,  बुढी नेपाल छाडेर ?"
अनि त्यस मध्ये समिर भन्नेको मुखबाट सुन्दै थिए, "तैले त बिहे गरिस यार । आफ्नो कैले जुर्ने हो, पत्तो छैन । एउटी थिई । त्यसलाई कोरियन ओभरकोट​ देखी सामसुङ आईप्याड सम्म चढाएँ । दुई तिन चोटी त पैसा पनि हुन्डी गर्देको थिए । हिजोआज चाहिँ इग्नोर गर्छे भन्या । अर्कै मुर्गा भेटिछे क्यारे ।"
अर्को व्यक्तिको कुण्ठा यस्तो थियो- " साला ३२ नाघे यार । कोरियामै गाला चाउरिने भो । फिनिस सम्म कुर्दा त ३५ टेक्छु । ३५ नाघे पछि बिहे गर्ने केटी पाउनै गाह्रो । बिहे गर्ने खाले गर्लफ्रेन्ड पनि भ​एन । फेसबुकमा त ललिपप देखाउने र टाईमपास गर्ने थुप्रै छन् । रियालिटीमा त्यस्ती सगँ लाईफ चल्दैन । अल्लारेहरु भन्छन् नी "गर्लफ्रेन्ड होस तनले सुन्दर​, लाईफफ्रेन्ड होस मनले सुन्दर ।"
गफ  नं. :
"साग​ टिप्दाँ टिप्दाँ हात खुट्टा नै झन्डै कोरियन भोटेलाई बलि चढाइसकेको । काममा अल्छि गर्न थालेपछि बल्ल साहुले रिलिज लेटर दियो । नत्र नेपाल भाग्ने तम्तायारमा थिए । अब त एक महिना पनि हुन​ लाग्यो काम छाडेको । काम हुदाँ पनि तनाव​, नहुदाँ पनि तनाव । तिमीहरुको बरु मोज छ । हामी एग्रिकल्चरमा आएकाहरुलाई बडो दुख छ ।"
एकजना त्यहाँ स्थित साथिको कुरा सुन्दा उ इलिग्गल बसिरहेको भेउ पाए । आफ्नै पीडा थियो उसको " डराई, डराई बसिराखेको छु म त । कुन दिन समातेर नेपाल फर्काईदिने हो थाहा छैन" भन्दै थियो 
"भाग्यमा छ भने यसपाली पनि भिषा लाग्ला । नत्र फर्किने बाहेक अर्को उपाय छैन । तीनजना लाई भिषै दिएन रे अस्ति । अब रिफ्युजीको बहाना गरेर बस्न पनि नपाइएला जस्तो छ । अर्को महिना सकिदै छ भिषा । एप्पलाई त गर्ने हो फेरी । हेरम, के हुन्छ ।"
"हाई ! सरी फर लेट ।" भन्दै यूजिन आइपुगिन् । मलाई कोरियन आउँदैन भन्ने थाहा भ​एर​ ऊ टुटेफुटेकै भ​ए नी अङ्ग्रेजीमै म सगं बोल्थिन् ।
यूजिन आएपछि अरुको गफतिर त्यति ध्यान ग​एन । जाओस पनि कसरी । यूजिनको बाफिलो गफको रफ्तारले मेरो कान डम्म भईसकेको थियो । ऊ मेन्यु हेर्दै थिईन् । मेले रेस्टुरेन्टको दिदीलाई बोलाए । ऊनलाई के खाने भनेर सोधे । "तिमीले आफ्नो देशको स्वाद चखाउने हो । मलाई के थाहा नेपाली परिकार कुन स्वादिलो हुन्छ । तिमी आफैँ अर्डर गर" भन्दै ऊ आफु पन्छिन् ।
साँझ भैसकेकाले डिनर नै खाने हेतुले मैले थाली सेट मगाए । अनि अरुको कुरो सुन्न छोडेर हामी आफैँ गफिन थाल्यौँ ।
ऊ नेपाल र नेपाली बारे चाख दिदै सोध्दै थिईन् । तर मेरो ध्यान उनको कुनै पनि कौतुहलतामा केन्द्रित थिएन । बरु ऊनैलाई कुर्ने क्रममा कानमा रेकर्डेड भएका नेपाली दाजुभाइहरुको गफ पुनः ईकोहो भैरेहेको थियो ।
उनिहरुको गफमा गम खादाँ कुनैमा मिठासपन थियो त कुनैमा निराशपन​ । सबै गफहरु सङ्ग्रहित गर्दा कोरियामा नेपालीहरुले केही पैसा कमाएता पनि सबैजसो सगँ कुनै न कुनै दुखद चित्र खुम्चिएर बसेको थियो ।

-धिरज चौधरी

Published on: 2016/12/19

https://www.fonijkorea.net/%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%81%E0%A4%B0%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%9F-%E0%A4%97%E0%A4%AB
Axact

KAOS DISTRO

KAOS DISTRO adalah blog membahas tentang cara pembuatan Kaos Distro sampai bagaimana cara menjual Kaos Distro Online maupun offline, Silakan cari arti www.kaosdistro.web.id..Terima Kasih telah berkunjung di blog sederhana ini, Jika antum PRODUSEN KAOS DISTRO MAU KERJASAMA SILAKAN KONTAK NO TLP YANG ADA DI WWW.KAOSDISTRO.WEB.ID

Post A Comment:

0 comments: