ब्लग
के टियुका माईक्रोवायोलोजिस्टहरु बेरोजगार युवाका पर्याय बन्दै गएका हुन् ?
करिव पाँच वर्ष अघि दसैँ-तिहार मनाएर काठमाण्डौँ फर्किदै थिए । बिराटनगरबाट गाडी छुट्ने बित्तिकै दुहबी नपुग्दै गाडी बिग्रियो । गाडी बनाउन एक डेढ घण्टा लाग्यो । अझ इटहरीमा निकै बेर रोक्दा त्यही रातको नौ बजिसकेको थियो । लौकही पुग्ने-पुग्ने बेला मोवाइलको घन्टी बज्यो । फोन नचिनेको नम्बरबाट आएको रहेछ ।
फोन रिसिभ गरे - " हेल्लो " ।
प्रतिउत्तरमा - " हेल्लो, धिरज जी, म नोबेल मेडिकल कलेजको क्याम्पस चिफ बोल्दैछु । कहाँ हुनुन्छ अहिले ? "
म एकछिन् अक्मकिए । रातको नौ बजेतिर क्याम्पस चिफले फोन त नगर्नु पर्ने । अभिवादन टक्रयाउदै- "सर, काठमाण्डौँ फर्किदै छु । अहिले लौकही पुग्न लागे" भने ।
उताबाट- धेरै टाढा पुग्नु भएको रहेनछ, तुरुन्तै फर्किनुस । भोली बिहान नौ बजे एमबिबिएस दोस्रो वर्षको लागि तपाईको डेमो कक्षा छ । दिउसै ईन्फर्म गर्छु भन्दै थिए, कामको व्यस्तताले फोन गर्नै पाइन । समयमै आउनु होला भन्दै उहाँले फोनको कुराकानी टुङ्ग्याउनु भयो ।
मेडिकल माईक्रोवायोलोजीमा एमएस्सी अध्ययन पश्चात धेरै ठाउँमा रोजगारको निम्ति हारगुहार गर्दै थिए । त्यहिक्रममा नोबेल मेडिकल कलेजमा पनि केहि समय अघि लेक्चरको पोष्टको लागि बायोडाटा सहित निवेदन दिएको थिए ।
क्याम्पस चिफको फोनले एकछिन म रनभुल्लमा परे । उहाँको कुराबाट जागिर पक्का भएको हो की जस्तो पनि लाग्यो । फेरी अर्को मनले डेमो कक्षा मात्रै भन्नु भा’छ, कन्फर्म भन्ने कुरा त गर्नु भएको छैन । काठमाण्डौँ जादै गर्दा बाटै बाट फर्किन अप्ठ्यारो पनि लागिरहेको थियो । अन्त्यमा आफ्नै मनको कुरा सुनेर भन्टाबारी पुग्नै लाग्दा खलासीलाई गाडी रोक्न लगाएर उहिबेला विराटनगर फर्के ।
भोलिपल्ट तीस मिनेटको डेमो कक्षा सोचे भन्दा राम्रो भयो । क्याम्पस चिफले "एक्सेलेन्ट" भन्दै एकदुई दिनमा एपोइन्ट गर्ने बारे निर्णय भएपछि इन्फर्म गर्छौँ भनेर आश्वासन दिनुभयो ।
एक दुई दिन बित्यो । मनमा लड्डु फुटाउदै केहि दिन अझैँ प्रतिक्षा गरे । दश दिन सम्म पनि फोन आएन । दुई साता पछि आफैले क्याम्पस चिफलाई फोन गरेर सोध्दा पो थाहा भयो त्रिभुवन विश्वविध्यालयको माईक्रोवायोलोजीको मेरो अध्ययन त बेकार रहेछ ।
उहाँले “तपाईको टियुको माईक्रोवायोलोजी रहेछ । टियुको कोर्ष केयुको माईक्रोवायोलोजी सगँ नमिल्ने रहेछ। त्यहिभएर नियुक्ति गर्न गाह्रो भयो, सरी धिरज सर” भन्नुभयो ।
धेरै ठाउँबाट रिजेक्ट भईसकेको थिए । अन्तिम अवस्थामा आएर उहाँले पनि रिजेक्ट गर्दा खासै असर परेन तर टियुकै सर्टिफिकेट भएका कारण केयु सम्बन्धन् प्राप्त मेडिकल कलेजमा अध्यापनको लागि नियुक्ति दिन नमिल्ने कारण सुन्दा चाहिँ उदेक लाग्यो ।
केही महिना पछि थाहा भयो मैले आवेदन दिएको उक्त लेक्चर पदमा भारतबाट एमएस्सी माईक्रोवायोलोजी अध्ययन गरेको व्यक्तिलाई नियुक्ति दिएछन् ।
माईक्रोवायोलोजीको डिग्री हात लागेपछि जागिरको दौडधुपमा धेरै अनुभवहरु बटुले । जसमध्ये माथि उल्लेखित अनुभव सबैभन्दा टर्रो रहयो ।
हालसालै टियुबाट मेडिकल माईक्रोवायोलोजीको स्नातकोत्तर अध्ययन सकाएका एकजना भाइले केही दिन अगाडी " दाई टियुमा पढेकाले केयु सम्बन्धन् प्राप्त मेडिकल कलेजमा पढाउन नपाउने हो र ?" भनेर प्रश्न तेर्स्याउदाँ आधा दशक अघि आफुले जागिर खोज्दाको माथि वर्णित धरातलको याद झल्झल्ती आयो ।
वर्षेनी त्रिभुवन विश्वविध्यालयबाट करिव चार सयका हाराहारीमा मेडिकल माईक्रोवायोलोजिस्टहरु जन्मन्छन् । तर त्यस मध्ये पन्चानब्बे प्रतिशतले अध्ययन् अनुरुप जागिर पाउँदैनन् । जागिर पाउन एकातिर टियु र केयुका माइक्रोवायोलोजी कोर्ष एकअर्काका सौता त छदै छ । अर्कोतिर अस्पतालहरुका माईक्रोवायोलोजी ल्यावमा काम गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स चाहिने प्रावधान छ । जसकारण टियुका माईक्रोवायोलोजिस्टहरुको वेरोजगारी व्यथा झन्-झन् पहाड बन्दैछ ।
मेरा अधिकांश माईक्रोवायोलोजिस्ट साथीहरु डिग्रिको सर्टिफिकेट लिएर रोजगारको जोहो गर्न कोही स्कुल पढाउँछन्, कोही एमआर (मेडिकल रिप्रिज्जेन्टेटिभ) भएका छन्, कोही व्यपारमा संलग्न छन् । पैसा हुनेहरु मोटो रकम बुझाएर अमेरिका, अष्ट्रेलिया, युरोप, र बेलायत भासिएका छन् । थोरबहुतले आफ्नो गर्जो जसोतसो टालिरहेता पनि धेरै जसो बेरोजगारको बेथिति बाट अझैँ पिल्सिरहेका छन् ।
समय-समयमा सुन्ने गरिन्छ - खानेपानी र दूधमा इकोलाई (दिशामा पाइने जिवाणु) भेटियो, थापाथली स्थित प्रसुती गृहमा नोजोकोमियल इन्फेक्शन (अस्पताल संक्रमित रोग) फैलियो, मिठाई पसलका मिठाईमा हानिकारक जिवाणु भेटियो, रोगको पहिचान् हुन सकेन, एन्टिबायोटिकले काम गरेन ।
एउटा पाटोमा यस्ता समचार बग्रेल्ती आइरहेका हुन्छन् । र अर्को पाटोमा जिवाणुले फैलाउने महामारी रोकथाम गर्न सक्ने मेडिकल माईक्रोवायोलोजिस्ट जस्ता जनशक्तिहरु चाहिँ सम्बन्धित निकायको लाईसेन्स चक्रव्युहका कारण बेरोजगार युवाका पर्याय बन्दै गईरहेका छन् ।
के टियु मेडिकल माईक्रोवायोलोजिस्टहरु वेरोजगार भएर बस्नुपर्ने भाग्यको नियति नै हो ? अथवा अध्ययन अनुरुप जागिर पाउन सम्बन्धित निकायले रोजगार प्रणालीमा लादेको अव्यवस्थित प्रावधानको शिकार भएका हुन् ?
वास्तवमा सरकार, स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले थोरै पनि चासो देखायो भने मेडिकल माईक्रोवायोलोजिस्टहरुको विकराल वेरोजगारी समस्या स्वतः साम्य भएर जाने थियो ।
स्वास्थ्य निर्देशिकामा उल्लेख बमोजिम देशका सबै अस्पतालमा अनिवार्य रुपमा मेडिकल माईक्रोवायोलोजिस्ट राख्दा मात्रै पनि धेरै सङ्ख्यामा वेरोजगार मेडिकल माईक्रोवायोलोजिस्टहरुले रोजगार पाउँथे ।
त्यस्तै मेडिकल कलेज, पारामेडिकल अध्ययन् संस्थान, र नर्सिङ कलेजहरुमा पूर्णरुपमा अध्यापन अनुमती दिने व्यवस्था गरिदिदाँ मात्रै पनि कसैले आफ्नो क्षमता गुम्स्याएर स्कुल अध्यापन र एमआर गरिरहनु पर्ने अवस्था सिर्जना हुदैन ।
नेपाल खानेपानी संस्थान, कृषि अनुसन्धान परिषद्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागजस्ता निकायहरुमा माईक्रोवायोलोजिस्ट जनशक्तिको अहम भुमिका रहन्छ । तर विडम्बना लोकसेवा आयोगले समेत माईक्रोवायोलोजीलाई प्राविधिक विधा अन्तर्गत राखेर भ्याकेन्सी आवहान् गर्न सकेको छैन।
२०६८ सालमा माईक्रोवायोलोजी संघर्ष समितिको आन्दोलनको दवाबमा स्वास्थ्य व्यवसायी परिषद्ले सम्बन्धित विज्ञहरुको सल्लाह बमोजिम अस्थाई लाईसेन्स प्रदान गरेको थियो । तर लगतै लाईसेन्सिङ पर्क्रिया विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । तर हाल सम्म निर्णय गर्न सम्बन्धित निकाय असफल रहदै आईरहेको छ ।
करिव पाँच, छ वर्ष बितिसक्यो । अस्पतालमा काम गर्न परिषद्को लाईसेन्स पाउनु पर्ने अधिकारको आन्दोलनमा माईक्रोवायोलोजी संघर्ष समिति अझैँ पनि संघर्षरत नै छ । बेला-बेला संघर्ष समिति र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य व्यवसायी परिषद् र त्रिवि सगं वार्ताहरु हुन्छन् । तर उक्त वार्ताहरु, आश्वासनहरु, र निर्णयहरुबाट हाल सम्म कुनै पनि ठोस उपलब्धि निस्केको छैन ।
अझ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नीति अच्चमको हुदै गएको छ। भारतबाट माईक्रोवायोलोजी अध्ययन गरेर आएकाहरुलाई त्रिविको समकक्षताकै आधारमा परिषद्ले सहजै लाईसेन्स दिन्छ । तर स्वदेशमै त्रिवि दिक्षित हामी जस्ता माईक्रोवायोलोजिस्टहरुलाई स्वास्थ्य परिषद्ले लाईसेन्स दिने कुरामा चाहिँ बन्देज लगाएको छ । यहाँनिर परिषद्को विभेदकारी रवैया छर्लङै देखिन्छ ।
त्रिवि अध्ययन गरेका सम्पूर्ण माईक्रोवायोलोजीस्टहरुको प्रमुख माग नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा दर्ता भई देशका स्वास्थ्य संस्थाहरुको माईक्रोवायोलोजी प्रयोगशालामा काम गर्न पाउनु हो । र भविष्यमा छुट्टै माईक्रोवायोलोजी परिषद् स्थापना गरेर सम्पूर्ण माईक्रोवायोलोजीस्टहरुलाई एउटै छाता अन्तर्गत ल्याउनु हो ।
शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री लाई सम्पूर्ण माईक्रोवायोलोजीस्टहरुको तर्फबाट अनुरोध गर्न चाहन्छु- कृपया त्रिविमा अध्ययन गरेका माईक्रोवायोलोजीस्टहरुलाई सौताको छोरो ठानेर बेरोजगार युवाको पर्यायवाची बन्न नदिन पहल गरिदिनुहोस । आफ्नो हक अधिकारको सुनिश्चितताको लागि र माईक्रोवायोलोजी क्षेत्रमा व्यापक सुधारका निम्ति आन्दोलन र आमरण अनशन घोषणा गर्ने दिन निम्त्याउन नदिनुहोस ।
-धिरज चौधरी
Post A Comment:
0 comments: