कथा
स्नो गर्ल



उनले एउटा छोटो भिरालो जङ्गल कटेपछि प्रयोगशालाको भवन आईपुग्छ भन्थिन्, टुटेफुटेको अङ्ग्रेजीमा । पुरै वाक्य त तिनलाई अङ्ग्रेजीमा बोल्नै आउँदैन थियो । "फरेष्ट​ क्रस​, ल्याब दियर", यसरी नै झुर अङ्ग्रेजीमा हाम्रो सम्वाद हुन्थ्यो ।

तिनले भने जस्तै साच्चै एउटा कक्रिएको जङ्गल देखेको थिए । तर यस्तोलाई के जङ्गल भन्नु र । चारकोसे सालको झाडी माझ हुर्केको, लुकिछिपी खेलेको, गोठालो ग​एको, म जस्तो लाई तिनले भनेको भिरालो जङ्गल फगत सुकेको खम्बाहरुको थुप्रो जस्तो मात्रै लागेको थियो । कंकाल जस्तो लाग्ने, जलाउन राखेको मुढा जस्ता देखिने, एउटै पात नभ​एको विजुलीका पोल जस्ता ठडिएका रुखहरुको लस्करलाई पनि के जङ्गल भन्नु ।

मरन्च्यासे जङ्गल कट्ने बितिक्कै एउटा आकर्षक भवन देखेको थिए । सोयुनले भने अनुसार "स्पेस रिसर्च ल्याब्रोटोरी" यही हो भनेर ठ्म्याउन गाह्रो भ​एको थिएन​।

धेरै पापड पेलेर​, बल्ल​-बल्ल "एरोनोटिक्स एन्ड स्पेस साईन्स​" अन्तर्गत विध्यावारिधि गर्ने मेरो बाटो कोरिया स्थित विश्वविध्यालयमा ग​एर​ टुङ्गो लागेको थियो । सोही क्रममा प्रयोगशाला सम्बन्धि   गाईड गर्न प्रोफेशरले सोयुनलाई जिम्मा दिएका थिए ।

प्रयोगशालाको सुरुवाती दिनमा सोयुनले निकै सहयोग गरेकी थिईन् । सायद तिनको सहयोग नहुदो हो त मेरो विधावारिधि यति सहज र छरितो हुने थिएन ।

साढे तीन वर्षमा पिएचडी अध्ययन सकिदा मैले धेरै कुराहरु सिक्न पाएँ । उल्काहरुको छेउटुप्पो सबै बुझेँ । कोरिया र कोरियन रितीतिथी बुझेँ । अझ धेरै त सोयुनलाई बुझेँ । तिनले प्रेमको पहिलो पाठ सिकाईन् । प्रेमको अध्यारा र उज्याला पाटा सगँ साक्षात्कार गराईन् । रोमान्स र रोदनको भर्याङ चढ्न सिकाईन् ।

एयरपोर्टमा जहाज कुरिरहदाँ उनको सम्झनाको ज्वारभाटा  आईरहेको थियो । अन्तिम चोटी सोयुन मलाई भेट्न आईहाल्छे की भन्ने आशाको दीप मनमा बाकी नै थियो ।
फ्लाइट कुर्दा-कुर्दा सोयुनको छायाहरु देख्न थाले । ऊ सगंका पलहरु झल्झल्ती आयो । सोयुन एम​एस (स्नातकोत्तर​) गर्दै थिईन् । तिनको स्नातकोत्तरको अनुसन्धान र मेरो विध्यावारिधिको शोध एउटै भ​एकाले हाम्रो सम्बन्ध मोटाउदै ग​एको थियो ।

प्रयोगाशालामा हाम्रो धेरैजसो समय रातको सुन्यतामा बित्दथ्यो । दुवै व्यस्त हुन्थ्यौँ, टेलिस्कोपले उल्काहरु खोज्न । उल्का उत्पतिको प्रक्रिया बुझ्नु र उल्का बन्ने नौलो प्रक्रियाको खोज गर्नु नै दुवैको मुख्य ध्येय थियो ।

रातको एकोहोरोतालाई भङग गर्न म तिनलाई कहिलेकाहीँ जिस्काउथेँ -"सोयुन​, आखाँ नै तिरमिराउने उल्का छेउमै हुदाँहुदै मैले क्षितिजमा उल्का अन्वेषण किन गरिरहेको होला ।" ऊ हासिदिन्थी । मैले फ्लर्ट गरिरहेको कुरो बुझ्थी पनि ।

साच्चै तिनी आकाशको उल्का जस्तै थिईन् । फरक यति थियो आकाशको उल्का रातो हुन्थ्यो, सोयुन चाहिँ हिउँ जस्ती गोरी थिईन् । तिनको गोरो त्वचा हिउँ जस्तै टल्किन्थ्यो ।

क्रिसमस आउने-आउने बेला, एकचोटी लगातार दुई दिन सम्म हिउँ पर्यो । हिउँ पर्दा मेरो मन खुब रम्थ्यो । आकाशमा उल्काहरु हराउथ्यो । सायद हिउँले तिनीहरुलाई पनि चिस्याउथ्यो होला। आकाश आफैँमा बोझिलो जस्तै देखिएपछि प्रयोगशालामा हामी अलिक फुर्सदिलो हुन्थ्यौँ ।

त्यसबेलाको हिउँमा सोयुनले मलाई एकदिन हिउँ खेल्न लगिन्, एउटा तालको छेउमा । त्यहाँ हिउँ खेल्नेको धेरै भिड थियो । त्यहि भिडमा हामी पनि हरायौँ , आफ्नै तालमा । हिउका डल्ला बनाएर तिनले म तिर फाल्थी । म पनि हिउँका फोहोराहरु बनाएर तिनको कैलो कपाल सेताम्मे बनादिन्थे ।
हिउँ खेलिसकेपछि, तातो कफीको प्याला लिदैँ हिउँमा खिचेको फोटोहरु हेर्दै गफिन थाल्यौँ ।

फोटोमा साच्ची तिनी हिउँ परि जस्तै देखिएकी थिई । मैले तिनलाई " इन पिक यु सिम्स स्नो एञ्जल, क्यान आई से यु स्नो गर्ल फ्रम टुडे" भन्दा ऊ खितिति हासीँ र "एज योर व्हिस​" भनेर अर्को क्याफे ल्याटे अर्डर गरिन्

खासगरी ऊ दङ्ग थिई । मक्ख पनि परेकी थिई । मेरो तारिफ फुस्रो भ​एता पनि ऊ मेरो हरेक कुरामा अफुलाई समाहित गर्न खोज्थी ।

केटीहरु तारिफका प्यासी हुन्छन् । चाहे केटी नेपाली होस चाहे कोरियन । कोरियन भएपनि सोयुन एक सुन्दर ठिटी न थिई । सायद त्यहिभ​एर नेपालीपारा कै भएतापनि मेरो तारिफमा ऊ फिदा हुन्थी । त्यसैदिन देखि मैले तिनलाई स्नो गर्ल​नामले बोलाउन थाले ।

मेरो लागि उनी सोयुनबाट "स्नो गर्ल​" हुदै गर्दा कुनबेला म उनको ढुकढुकीमा मिसिन पुगेछु, पत्तै पाइनँ ।

सुवनको नाईट पवहरुमा खुब झुम्थ्यौँ हामी । नोरेबाङ्को मिठास पनि तिनले नै चखाएकी थिई । कहिलेकाहीँ सुवनको रेडलाईटको बाटो हुदै घर फर्किदा म तिनलाई सिसाको फ्रेम भित्र सज्जिएकी अर्धनङ्ग्न वेश्याको बारेमा सोध्थे । ऊ छिल्लिदै भन्थी -"तिमिले त अर्धनङ्ग्नताको बाहिरी संसार मात्रै आखाँले सेकेका छौँ । पख, आज म तिमीलाई अर्धनङ्ग्न भित्रको स्वर्ग पनि सयर गराउँछु ।" तर म यौनिक हुन खोज्दा खोज्दै उसको होस्टेल आईपुग्थ्यो र केवल ओठे चुम्बन मात्रै दिएर तड्पाएर ग​ईहाल्थी ।

कोरिया आउने क्रममा धेरैले कोरिया दुखको खाल्डो हो । कामको दलदल हो । प्रोफेसरको कचकच हो  भन्थ्यो । तर स्नो गर्लको  स्पर्शले मेरा दिनहरु सुखद र खुशीको वायुपङ्खी घोडामा उडिरहेको थियो ।

आफसोच ! त्यो खुशीको वायुपङ्खी घोडा धेरै दिन टिकेन , एकदिन ड्याम्म भूईमा बजारियो । सलनालमा स्नो गर्लले पारिवारीक डिनरको लागि निम्तो गरेकी थिई । उक्त डिनर पश्चात हाम्रो सम्बन्ध रोगिन थाल्यो ।

डिनरमा बुल्गोगी खाने बेला स्नो गर्लको ममी डेडी सगँ हिन्दु र क्रिश्चियन धर्मका कुराहरु निस्के।

"तिमी बुल्गोगी खादेनौँ ।"

"अहँ, खादिनँ " भने ।

किन?

बुल्गोगीमा बिफ हुन्छ । त्यही भ​एर खादिन ।

किन बिफ खादेनौँ र ?

हो, खादिनँ ।

किन खादेनौँ । तिमी क्रिश्चियन होइनौ र ?

मैले उत्तर दिए- "म गाई नखाने हिन्दु हो । तर मेरो गाई खाने/नखाने कुरा हिन्दु र क्रिश्चियन सगँ सरोकार राख्दैन ।"



"त्यसो के सगँ सरोकार राख्छ ?" अलिक मलिन अनुहारमा स्नो गर्लको डेडीले सोध्नुभयो ।

मैले विस्तारै भने -" आई डन्ट इट बिफ , नट बिकज अफ हिन्दुज्म अर क्रिश्चियानिटी, बट बिकज अफ नेशनालिटी । आई एम अ नेपाली एन्ड इन माई कन्ट्रि काउ इज अ नेशनल एनिमल ।"

मैले उनको ममी डेडीलाई बुजाउन खोजेको चुरो कुरो यही थियो की मेरो गाई खाने र नखाने कुरो धर्म सगँ नजोडिएर राष्ट्रियता सगँ जोडिएको छ । किनकी गाई हाम्रो रास्ट्रिय जनावर हो । र गाई नखादैमा हिन्दु र गाई खादैमा क्रिश्चियन बनिदैन । सबै धर्मको आआफ्नै डक्ट्रीन होला । तर यो खादैमा त्यो नखादैमा धर्मको पहिचान हुदैन ।

सलनालको बिदा पछिका दिनहरुमा स्नो गर्ल र मेरो सम्बन्ध हिउँ झैँ जम्नुको सट्टा उल्टो पग्लेर धर्मको हिलोले धमिलो हुदै गयो ।

ऊ मलाई थियोलोजी कक्षाहरुको लेक्चरमा झैँ बाइबलमा लिखित दन्ते कथाहरु सुनाएर मेरो हिन्दुत्वलाई धुमिल पार्न खोज्थी । र क्राईसटको घुम्टोले मेरो मनलाई छोप्न खोज्दै आफ्ना आखाँहरु कामुक बनाउथी । म उस्को कामुक झिल भित्र पस्थे पनि, तर  हिन्दुत्वको डेगमा अडिग रहदै सिथिल भ​एर निस्कन्थे ।

उसको दिक्षान्त समारोहको एक साता अघि उ मलाई ब्याप्टिजमको लागि दवाब दिईरहेकी थिई । तर समाजको सकस, साथीभाइको सकस​, र​ पारिवारीक सकसले मलाई एक कोरियन युवतीको लागि  क्रिस्चियन भ​एर हिन्दुत्व गुमाउन मन लागेन ।

उनको दवाबले विस्फोटको रुप लिएपछि एकदिन तिनलाई सोधेको थिए -" के तिमी मेरो लागि हिन्दु बन्न सक्छौँ ।"

निर्निमेष​, ऊ टोलाईरही । अनि उसको र मेरो सम्बन्ध अन्त्यको हाउभाउ देखाएर म बाट सधैँको लागि टाढी ।

विदेशमा सायद सम्बन्धहरु एउटा खेलौना जस्तै रहेछ । क्षणभरमा टुट्ने, क्षणभरमा जुट्ने । त्यहिभ​एर दिक्षान्त समारोहमा स्नो गर्ल आफ्नो खलकको बुल्गोगीभोगीको कुम समातेर आएकी थिई ।

फ्लाईटको माईकिङले झल्याँस बानायो । स्नो गर्लको भुतबाट पनि झसङ्ग​ भ​ए । तिनको फ्लासब्याकले इन्छन टर्मिनलमा फ्लाईट कुरेको दुई घण्टा बितेको पत्तै पाइन​।




-धिरज चौधरी

https://www.fonijkorea.net/%E0%A4%B8%E0%A5%8D%E0%A4%A8%E0%A5%8B-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%B2


Axact

KAOS DISTRO

KAOS DISTRO adalah blog membahas tentang cara pembuatan Kaos Distro sampai bagaimana cara menjual Kaos Distro Online maupun offline, Silakan cari arti www.kaosdistro.web.id..Terima Kasih telah berkunjung di blog sederhana ini, Jika antum PRODUSEN KAOS DISTRO MAU KERJASAMA SILAKAN KONTAK NO TLP YANG ADA DI WWW.KAOSDISTRO.WEB.ID

Post A Comment:

0 comments: