छापामारको प्रेम

क्षेत्र नं तीन का मिलिसिया कमाण्डर उत्तेजित हुदै गाउँलेलाई सम्बोधन गर्दै थिए। सबैलाई उर्दी जारी भयो-"की धन पठाऊ की जन पठाऊ ।" कथित युद्धको विगुल छाप्रे गाउँमा पनि बज्यो ।
प्रहरी चौकी त उहिल्यै खण्डहर भईसकेको थियो। शाहीसेना मान्मा सदरमुकामबाट कालीकोटको अन्य चट्टानी पहाड उक्लिन सकिरहेको थिएन। यस्तो अवस्थामा एकछत्र राज थियो कमान्डर प्रतापको। जनअदालत रे, जनप्रशासन रे, जनादेश रे। हुदाँ हुदाँ एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न मिलिसिया पास चाहिने नियम बन्यो। "जगें-ज्ञानेन्द्रे" जस्तै प्रताप-शासनको उदय भयो छाप्रेमा।
बगिरहेको कर्णाली लाग्थ्यो ठप्प भा, सुसेल्नै भुलिसकेको थियो। बडेमानका चट्टानी पहाडका कापबाट सन्नाटाको ठाउँमा रोदन मिश्रित चिच्याहट सुनिन्थ्यो।
खोल्साखोल्सीमा लासका अवशेष भेटिन्थ्यो। सेताम्मे हिउँहरु रगताम्मे लाग्थ्यो। रातको अँध्यारो धर्साहरुमा कहिलेकाहीँ नाइटभिजनका किरणले आखाँहरु तिरमिराउँथ्यो। बिहान हुन्थ्यो। पधेँरामा पानी लिन जान्थे। टाटेपाटे ट्राउजरमा जनसेनाका मार्चपास देख्थे। डर लाग्थ्यो। टाउको निहुराएरै धारामा पानी थापेर फर्किन्थे।

प्रत्येक मंगलबार जनअदालत बस्थ्यो। आदेशहरु जारी हुन्थ्यो। कमाण्डर प्रतापको "की धन पठाऊ की जन पठाऊ" उर्दी पुनः फलाकिन्थ्यो। छाप्रे सम्पूर्णमा कुरुक्षेत्र भईसकेको थियो। परिवर्तनको नाममा क्रान्तिको लेपन लाएर उल्टै दमन​, अन्याय​, कुशासन मौलाईरहेको थियो।
कमाण्डरको उर्दी पालना गर्न मेरो परिवारको हैसियत थिएन। जेठा दाइ युद्धको धुवाँ फैलिनु अगावै कालापहाड​ भासिएका थिए। भारतको उतराखण्डमा मजदुरी गर्न जादाँ दुर्घटनामा परेर बा अपाङ्ग भ​एका थिए। अनि सानो भाइ सानै थियो। घरमा अलिक हट्टाकट्टा सन्तानको रुपमा हामी दुई दिदीबहिनी थियौँ।
धन सम्पत्तिको नाममा अलिकति चट्टानी पाखोबारी थियो, सय पचास स्याउका बोट थिए। ६ महिना पनि खान नपुग्ने सिमी र आलु फल्थ्यो। यस्तो अवस्थामा जनको साटो युद्धरत मिलिसियाहलाई लाखौँ चन्दा दिन मेरो परिवारको ल्याकत थिएन​। त्यहि भ​एर​ जेठी छोरीको नाताले मेरा बा मिलिसियाको पोल्टामा  मलाई सुम्पिन विवश हुनुभयो।

अठार वसन्तमा हुँदा चौथो छाउ सकिएको भोलिपल्टैदेखि मेरो छापामार​ जीवन सुरु भयो। माघको जाडोमा एकाबिहानै कमाण्डर प्रताप र केही महिला छापामार​ हाम्रो घर आएका थिए। छाप्रोमा युद्धको रन्को लागेको वर्षदिन जति भईसकेको थियो। तर कमाण्डर प्रतापलाई मैले नजिकैबाट​ देखेको थिईन।
निधारमा रातो रङको तारा अंकित रिबन, खुट्टामा गोल्डस्टार जुत्ता। घामले डढाएका गाला, फुटेका ओठ​, नाकमा कोठी जस्तो लाग्ने दाग​, र निलो पाइन्टमा कालो ज्याकेट लगाएका प्रताप तन्नेरी नै देखिन्थे।
विद्रोही जस्तो लाग्ने आँखा, मिलेको शरीर, र निकै प्रभाव पार्ने बोलीमा प्रताप मेरा बासगँ हक अधिकारका, भेदभावका र राज्यबाट उपेक्षित वर्गको लडाँईको कुरा भन्दै सम्झाईरहेका थिए। बा आखाभरी आँशु पारेर याचीत​ अनुहारमा मौन हुनुन्थ्यो। बाको प्रतिरोध नभ​एपछि कमाण्डर प्रताप र अन्य महिला छापामारसगँ लुरुलुरु पछि लागेँ म अनिश्चितताको बाटोमा।
गरिबी, भौगोलिक​ विकटता, अस्थिर राज्य प्रणाली र अभागी निधारहरु सबैलाई दोष दिदैँ मिलिसियाको सामन्य तालिम​ पूरा गरे। मेरो क्षमताअनुसार उनीहरुले सञ्चार र जनसम्पर्क फाँटको जिम्मा दिए। कक्षा नौ सम्म पढेकाले अन्य महिला छापामार भन्दा पढेलेखेकोमा गनिएँ म। त्यहीभएर युद्ध लडाकुभन्दा प्रशासन हेर्ने कार्यभार दिए मलाई।
वर्षदिनभरीमा छापामारको नालीबेली बुझ्न पाएँ, युद्धको मूलमन्त्र थाहा पाएँ। संगठन सुदृढका लागि क्रान्तिकारी लिडरको रेकर्डेड भाषण सुनेर धेरै कुरा सिक्न पाएँ।
प्रशासनको जिम्मा पाएपछि कमाण्डर प्रतापसगँ पटक​-पटक भेट भइरहन्थ्यो। उसलाई संगठन मजबुत बनाउने चिन्ताले सताईरहन्थ्यो। म उबाट प्रभावित थिएँ। छापामार हुनुभन्दा अगाडि निर्दयी लाग्ने प्रताप छापामार भ​एपछि भिन्नै पाएँ। म युद्धमा होमिएको एक वर्षभित्र प्रतापको नेतृवमा कालीकोटको थुप्रै इलाकामा ग​एँ। युद्धमा प्लाटुनहरुको प्रत्येक २-३ महिनामा इलाका परिवर्तन भईरहन्थ्यो।
मेरो कार्य सम्पादनबाट प्रताप पनि सन्तुष्ट थियो। जनसम्पर्कका लागि म सिपालु थिएँ जसकारण हाम्रो जत्था एक ठाउँबाट अर्को ठाउँमा पुग्दा गाउँलेसगँ हिमचिमका लागि सबैले मलाई नै अघि बढाउँथे।
कमाण्डरले कहिलेकाही धाप दिदैँ "छापामार होस त निर्मला जस्ती" भन्दा मेरो मन चङ्गा हुन्थ्यो। भुतुक्क हुन्थेँ, उसको धापले म तरङ्गीत भ​एर पानी-पानी हुन्थेँ।
एकदिन हाम्रो जत्थालाई जुफाल जाने आदेश आयो। पैदल हिँडेर जानुपर्ने। सुरक्षाकर्मीको अवरोधबाट छेलिएर डोल्पाको जुफाल पुग्नु निकै चुनौती थियो। यात्राको गुरुयोजना मैले नै बनाएँ। पाचौँ दिनमा हामी सुरक्षित जुफाल पुग्यौँ। मेरो योजनाबाट सकुशल जुफाल यात्रा सफल भ​एको हुदाँ कमाण्डर औधी खुशी भए। हाम्रो जत्थामा म प्रशंसीत  त छदैँ थिए, पुरै संगठन मै मेरो कार्य-सम्पादनको चर्चा हुन थाल्यो।
कयौँ चित्कार र दमीत आवज बोकेर कर्णाली मन्द गतिमा बगिरहेको थियो। स्याउ र ओखरका बोटहरुमा पालुवा देखिन थालिसकेको थियो। डाँडाको भिरमा हाम्रो क्याम्प थियो। साँझ पर्न लागेको थियो, म क्षितिज हेर्दै टोलाईरहेको थिएँ।
"कमरेड निर्मला, किन टोलाएर बसेको"- कमाण्डर प्रतापको आवाजबाट म झसङ्ग भ​एँ।
"हैन, त्यसै….., घरको याद आयो। बा-आमाको याद आयो। त्यही भ​एर टोलाएछु ।"
प्रताप हाम्रो कामाण्डर भ​एपनि साथी जस्तै प्रत्येक साँझ हामी विविध पक्षमा कुरा गर्दथ्यौँ। सायद एउटै उमेर भ​एकोले उसको र मेरो धेरै विषयमा मत मिल्थ्यो। उसगँ धेरै मिल्ने भ​एर होला एकदिन प्रताप आफैँले "कति तपाँई तपाँई भेनेर बोलाउँछौ। निर्मला तिमीले मलाई "तिमी" भेनेर बोलाउँदा पनि हुन्छ" भनेर उसको र मेरोबीचको दुरी उसले आफैँ घटायो।
कमाण्डर प्रतापको नाम पहिलो चोटी छाप्रोमा सुन्दा एउटा क्रुर तानाशाहीको पर्यायवाची लाग्थ्यो। सायद संगठनकै आदेशमूलकन नीतिको उपज होला प्रताप अलिक कडा स्वभावको थियो। उ आफ्नो स्वविवेकको निर्णयमा अडिग रहन्थ्यो। अत्याचार​, अन्याय र विभेदरहित देशको कल्पनामा रमाउँथ्यो। तर संगठनमा छापामारको भेषमा एक दुई छुद्र मान्छेको व्यवहारले गर्दा गाउँले झन् त्रसित थिए। सिमान्तकृत​, पिछडा, अल्पमतमा परेकाको उत्थान हुनुको साटो उल्टै उनीहरुको पुकार कर्णालीसँगै बगेर विलिन भ​ईरहेको थियो।
प्रताप र मेरो साघुँरिएको सम्बन्ध देखेर अरु महिला साथी जल्थे। हाम्रो जत्थामा कामरेडहरुले हामीलाई अप्रत्यक्ष रुपमा अघोषित जोडीको संज्ञा दिएका थिए। प्रताप र मेरो अगाडि चाहिँ कसैले  केही भन्ने आँट गर्दैन थिए।
हामी आफैँ पनि हाम्रो सामिप्यतामा लगाम लगाउन सकिरहेका थिएनौँ। हाम्रो सम्बन्ध न त साथी मै सिमित थियो न प्रेमबाट परिभाषित नै थियो ।
देशभररी युद्ध दन्किरहेता पनि जुफालले रङ्ग मनाउन विर्सेको थिएन। साउनमा पात्ले डाडाँमा रङ्ग लागेको थियो। सबै कामरेडहरु रङ्ग हेर्न ग​एका थिए।
क्याम्प​मा प्रताप र म मात्रै थियौँ। यौवनको प्रेमहरु एकान्त पाएपछि झन् जुर्मुराउँदो रहेछ क्यारे। त्यही भ​एर छोटिदैँ ग​एको प्रताप र मेरो दुरीसगैँ भित्रभित्रै प्रेमको हुरी बेस्सरी चल्यो। अन्त्यमा क्याम्प​मा कोही नभ​एको दिन प्रताप र मेरो सम्बन्धले प्रेमको ठोस नाम पायो।
उसैले प्रस्ताव गर्‍यो, 'युद्धको बीचमा पनि म तिमीलाई प्रेम गर्छु। पार्टीको सिद्धान्त अनुरुप परिवर्तनका लागि सँगै सहिद हुन चाहन्छु। के तिमी यो युद्ध र मेरो जीवनसाथी पनि बन्न सक्छौ निर्मला?'
पुरै जनवादी पारामा उसले प्रेम प्रस्ताव राख्यो। उसै पनि थाहै नपाई प्रतापलाई माया गर्न थालिसकेको थिएँ। उसको प्रस्तावले म झन कायल भ​एँ।
उसको प्रस्ताव सहजै स्विकारेर​ उसलाई अकंमाल गरें। हामी निकै बेर अगाँलोमा बाधियौँ। उसको कुमलाई सिरानी बनाएर निकै बेर ढल्किएँ म। प्रतिकुल परिस्थितिमा पनि हामीले प्रेम गर्न सक्यौँ। हाम्रो प्रेमलापहरु जनयुद्ध समाप्तिपछिको दिनको योजना बनाउँदै व्यतित हुन्थ्यो।

सबै कमरेडहरुको सल्लाहमा हामीले बिहे गर्ने निर्णय गर्‍यौँ। पार्टी मुख्यालयमा जानकारी गराएर हामीले रणभूमि मै बिहे गर्‍यौँ। युद्ध क्याम्पमै सुहागरात मनायौँ र एक इलाकाबाट अर्को इलाकामा सरुवा हुदाँ नै हनिमुन पनि मनायौँ।
खुशी थियौँ हामी, हाम्रो जत्थामा सबै सहयोगी नै थिए। अनि भाग्य दह्रो भ​एकाले सरकारी सुरक्षा निकाय सगँ मुडभेड पनि भ​एको थिएन।
गृहयुद्ध चर्केर सरकारले सबै युद्धरत छापामारलाई आतंककारी घोषणा गरेका थिए। बारम्बारका वार्ता विफल भ​एका कारण सरकारी निकाय पनि 'सर्च एण्ड किल​' को रणनीतिमा लागेका थिए।
यसैक्रममा पार्टीले दुनै सदरमुकाम कब्जा गर्ने निर्णय गर्‍यो। कब्जा गर्न जनसेना धेरै सङ्ख्यामा चाहिने हुदाँ हाम्रो जत्थाबाट पनि साथीहरु जानुपर्ने भयो। कमाण्डरको हैसियतले प्रताप स्वतः जानैपर्ने बाध्यता थियो। मैले उसलाई रोक्न सम्भव थिएन।
म र केही साथीहरु क्याम्पमै बसेर दुनै कब्जाको सफलताको लागि प्रार्थना गरेर बस्यौँ। सबैभन्दा बढी प्रतापकै सकुशल फिर्तिको सुरता थियो मलाई।
लगभग सात घण्टाको दोहोरो भिडन्तबाट दुनै सदरमुकाम कब्जा गर्न सफल त भ​ए तर सबैभन्दा ठूलो क्षति बेहोरेर। युद्ध अभिषेक गरेर पठाएको प्रतापको रगताम्मे लास कपडामा बेरेर साथीहरुले जुफाल ल्याएका थिए।
मलाई प्रतापको पारिवारीक​ पृष्ठभूमी त्यति राम्ररी थाहा थिएन। युद्धको बेला घरपरिवारसगँ सम्पर्क गर्न पनि सकेका थिएनौँ। त्यसैले प्रतापको अन्तिम संस्कार जुफालमै गरेँ।
यता मेरो पेटमा प्रतापको अंश हुर्किरहेको थियो। युद्धमा ग​एको प्रतापलाई फर्केपछि सुनाउँला भनेर साचेकी थिए। तर सोचे जस्तो त भएन नै, म दोधारमा परेँ। युद्धभूमीमै प्रताप बेगर उसको अशंलाई कसरी जन्म दिने ? साथीहरु बच्चा फाल्नेसम्म सल्लाह दिईरहेका थिए।
मेरो प्रेममा शक्ति थियो सायद, पेटको बच्चाको चाहना थियो, दैव संयोग​ले युद्ध रोकियो। युद्धरत पक्ष कथित शान्तिको सन्देश बोकेर सिहंदरबार पस्यो। जगंलका जनसेना कानुनी तवरमा शिविरमा बस्न थाले। म शिविर नग​एर गाउँ फर्केँ। छाप्रो मै प्रनिलालाई जन्म दिएँ।
प्रनिला आज दश वर्ष पुगी। उसैको जन्मदिनको उपहारको निम्ति प्रताप र मेरो प्रेम कथा लेखेँ मैले-'छापामारको प्रेम'
प्रनिला अहिले सानै छे, अहिले यो कथा बुझ्दिन​ होला। तर यो कथा लेख्दा धेरै फ्लासब्याकमा पुगेछु। र पुनः असन्तुष्टि  उर्लिएर आयो।
खोई त हामीले चाहेको परिवर्तन? प्रतापले गर्ने हक अधिकारको कुरा कसले पायो? दुनै सदरमुकाम कब्जा गर्दा प्रतापको बलिदानले डोल्पामा के प्रगति भयो? खोई त पीडित वर्गको उत्थान्के दस वर्षे युद्धको रगत सिहंदरबार र बालुवाटारका भित्ता पोत्न मात्रै सिमित भ​ए?
युद्धरत हुदाँको प्रेमले मेरो गर्भमा प्रनिला त हुर्की तर अफसोच् छापामारको युद्धले शान्ति, परिवर्तन​, र विकासको भ्रुण हुर्काउन सकेन​।

 

-धिरज चौधरी 

प्रकाशित मिति: शनिबार, भाद्र २५, २०७३ १६:१३:०३


http://setopati.com/sahityapati/53143/
Axact

KAOS DISTRO

KAOS DISTRO adalah blog membahas tentang cara pembuatan Kaos Distro sampai bagaimana cara menjual Kaos Distro Online maupun offline, Silakan cari arti www.kaosdistro.web.id..Terima Kasih telah berkunjung di blog sederhana ini, Jika antum PRODUSEN KAOS DISTRO MAU KERJASAMA SILAKAN KONTAK NO TLP YANG ADA DI WWW.KAOSDISTRO.WEB.ID

Post A Comment:

0 comments: